शैक्षिक कन्सल्टेन्सी बिक्रीका नाममा ठगी
विद्यार्थी र अभिभावकलाई विभिन्न प्रलोभनमा ठगी गर्दै आएका कतिपय शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) मा अनौठो घटना देखा पर्न थालेको छ ।
कन्सल्टेन्सीका नाममा विद्यार्थी अभिभावक मात्र होइन कन्सल्टेन्सीकै शेयरधनी नै ठगिएको पत्ता लागेको छ । काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेसनलका शेयरधनी तारकेश्वर गाउँपालिका–१, नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिइ पूर्वसञ्चालक चाँगुनारायण नगरपालिका–८, भक्तपुरका ७२ वर्षीया केशवप्रसाद अधिकारीले रु तीन करोड ५० लाख ठगी गरेको पाइएको छ ।
ठगीको उजुरी परेपछि अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले सो प्रालिको शेयर स्वामित्व हस्तान्तरण गर्ने भनी रकम लिएर तामाङलाई मञ्जुरीनामा दिइसकेका अवस्थामा पटकपटक ताकेता गर्दा पनि शेयर स्वामित्व हस्तान्तरण नगरी प्रकाश पाण्डेलाई बेचेको पाइएको हो । अधिकारीले हाल उक्त कन्सल्टेन्सी शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेलाई बिक्री गरिसकेका छन् ।
राससका अनुसार अध्यक्ष पाण्डेले आफूले कम्पनी रजिष्ट्रारको कार्यालय र कानूनी अवस्था बुझेर अधिकारीसंग कम्पनी लिएको र तामाङले त्यसअघि किन्नका लागि रकम दिएको भन्ने हाल मात्रै थाहा पाएको बताए । अधिकारीमाथि अन्य कीर्ते र ठगीका मुद्दा पनि प्रहरीसमक्ष आउन थालेका छन् । सरकारी जग्गासमेत बैना गरी ठगी गरेका विषयमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ १३ गते अधिकारीको तस्विरसहित घटना विवरण सार्वजनिक गरेको थियो । पीडित तामाङले अधिकारीले आफूलाई शेयर स्वामित्व हस्तान्तरण नगरी कम्पनी अर्कैलाई बेचेको थाहा पाएपछि आफू कानूनी उपचारका लागि प्रहरीसमक्ष पुगेको बताए ।
