मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको बोर्ड अफ ट्रस्टी गठन भएको छ । मन्त्रिपरिषद्को गत जेठ २ गतेको बैठकले बोर्ड अफ ट्रस्टीमा गठन गरेको हो ।
बोर्ड अफ ट्रस्टीमा भानुप्रसाद आचार्य, लोचन ज्ञवाली, पद्मा ज्योति पुष्कर बज्राचार्य, डा सन्दुक रुइत, संगीता सिंह, रामकृष्ण, सुदर्शन राज तिवारी, सुजेन फोर्टियर सदस्य रहेका छन् ।
समितिको पदेन सदस्यमा अर्जुनप्रसाद पोखरेल, महेशप्रसाद बर्तौला, राजेन्द्रध्वज जोशी, रामकृष्ण सुवेदी, शंकरप्रसाद भण्डारी रहेका छन् ।
गत जेठ २७ गते बसेको बोर्डको पहिलो बैठकले बोर्ड अफ ट्रष्टीको अध्यक्षमा पद्मा ज्योतिलाई निर्वाचित गरेको छ ।
विश्वविद्यालयलाई विश्वस्तरको विश्वविद्यालयका रूपमा विकास गर्ने योजना, नीति र रणनीतिहरू अवलम्बन गर्ने, विश्वविद्यालयको अध्यक्ष नियुक्त गर्ने, स्रोत परिचालन गर्ने र सञ्चालनमा रहेका मूल्यमान्यताको संरक्षण गर्ने बोर्डको कर्तव्य र अधिकार हुने बोर्डले जानकारी दियो ।
२०७६ वैशाखमा मदन भण्डारी विज्ञान तथा प्रविधि विकास बोर्डको स्थापनासँगै विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको थियो ।
विश्वविद्यालय अगस्ट २०२२ मा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९ (२०२२ एडी) जारी गरी स्थापना भएको हो।
सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी स्थानीय परिवेश अनुरूप ज्ञान र प्रविधिको सृजना र अनुकूलन गरी समृद्ध नेपाल निर्माणमा सघाउने उद्देश्यले विश्वस्तरीय अनुसन्धानमूलक विश्वविद्यालयको परिकल्पना गरिएको छ ।
विश्वविद्यालयले मकवानपुर जिल्लाको चित्लाङमा डिसेम्बर १, २०२३ देखि देशको वास्तविक जीवन आवश्यकतामा केन्द्रित हुने गरी अनुसन्धानमा आधारित स्नातकोत्तर र पीएचडी कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ ।