फुटबलर हरि खड्काले नक्कली प्रमाणपत्र पेस गरेर प्रयोग गरेर सार्वजनिक पदमा रहेको पुष्टि भएको छ । नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा उनीदोषी ठहर भएका हुन् ।
आज विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।नेपाल सरकार वादी रहेको मुद्दा नं. ०७८ सीआर ००४३ मा गत माघ १० गते परेको मुद्दामा उनी दोषी ठहर भएका हुन् । उनलाई आजको विशेष अदालतको इजालसले ५ हजार जरिवाना तोकिएको प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।
खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को प्रमाणपत्र पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए । खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र दशदेखि २० हजारसम्म जरिवाना सजाय माग गरेको थियो । अख्तियारले छानबिन गरेर गत माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।