After SEE Portal

सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ भर्ना अभियान सञ्चालन हुने

Bridge Course

शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

केन्द्रले सबै  स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ, र विद्यालयलाई यो आदर्श वाक्यका साथ भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।

विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न विविध कार्यक्रम सहित अभियान सञ्चालन गर्न निर्देशन दिएको छ।

सबै स्थानीय तहले विद्यार्थी भर्ना अभियान कार्यक्रमको नेतृत्व गर्न, विद्यालयले विद्यार्थी भर्ना अभियान कार्यक्रम सञ्चालन गर्न र शिक्षा विकास तथा समन्वय एकाइले विद्यार्थी भर्ना अभियान कार्यक्रममा आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको छ ।

सार्वजनिक जीवनमा रहेका व्यक्ति, कलाकार, राजनैतिक व्यक्ति, नागरिक समाज, पत्रकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, बालक्लब, विद्यालयको उच्चतम तहका विद्यार्थी, आमा समूह, शिक्षा क्षेत्रमा कार्यरत सङ्घसंस्था आदिसंग हातेमालो गर्दै विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिका, सीमान्तकृत समुदायका बालबालिका तथा अपाङ्गता भएका बालबालिकाको पहिचान तथा भर्ना गर्न प्रोत्साहित गर्ने कार्यमा परिचालन गर्न आव्हान गरेको छ ।

वैशाख पहिलो हप्ता विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम सञ्चालन गर्न र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठनका साथै घरदैलो लगायतका कार्यक्रम सञ्चालन गरी विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका सबै बालबालिका विद्यालयमा भर्नाको पहल गर्न केन्द्रले आव्हान गरेको छ ।

 विद्यालय तहका पाठ्यपुस्तक २०८० चैत १५ गतेबाट नै बिक्री वितरण सुरु भइसकेको हुँदा विद्यालयले समयमै पाठ्यपुस्तक खरिद गरी नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीलाई वैशाख महिनाको पहिलो हप्तामै पाठ्यपुस्तक वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

विद्यालयहरूलाई आ–आफ्नो सेवा क्षेत्र भित्रका अभिभावकलाई टेलिफोन, इन्टरनेट, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जाल समेतका माध्यमबाट सूचना प्रवाह गरी भर्ना गर्न लगाउने व्यवस्था मिलाउन सबैलाई अनुरोध गरेको छ ।

अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना गराउने र त्यस्ता बालबालिकाको पढाइमा निरन्तर सहयोग गर्ने व्यक्तिहरूको उचित पहिचान, सम्मान र अभिलेख राख्ने व्यवस्था मिलाउन सबैलाई आग्रह् गरेको छ ।

सामुदायिक सिकाइ केन्द्रहरूलाई विद्यालय बाहिर रहेका बालबालिकाहरूको लगत सङ्कलन गर्न लगाई विद्यालयमा भर्ना गर्नका लागि समन्वय र प्रचार–प्रसार आदिमा परिचालन गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

विद्यालयहरूले विद्यालय व्यवस्थापन समितिबाट विद्यार्थी भर्ना अभियान कार्यक्रमको कार्यतालिका स्वीकृत गरी सोही अनुरूप विद्यार्थी भर्ना अभियान कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

विद्यार्थी भर्ना अभियान कार्यक्रमको सम्बन्धमा आवश्यक सूचना, समन्वय र सहजीकरणका लागि स्थानीय तहमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकी जिम्मेबारी प्रदान गर्न आवश्यक व्यवस्था गर्न सूचनामा भनेको छ । साथै विद्यालय स्तरमा समेत एक जना शिक्षकलाई विद्यार्थी भर्ना कार्यक्रमको सम्पर्क व्यक्ति तोकी सूचना, सम्पर्क र समन्वयको जिम्मेबारीको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

विद्यालयमा भर्ना भएका बालबालिकाको उमेरगत विवरण सहितको प्रतिवेदन विद्यालयले स्थानीय तहमा पेस गर्न, स्थानीय तहले विद्यार्थी भर्ना अभियानको समष्टिगत प्रतिवेदन सम्बन्धित एकाइमा पठाउने व्यवस्था गर्न निर्देश्न गरेको छ । एकाइले विद्यार्थी भर्ना अभियान कार्यक्रमको समष्टिगत प्रतिवेदन २०८१ जेठ १५ गतेसम्म केन्द्रमा पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books