After SEE Portal

समाजवादीको घोषणा पत्रमा शिक्षा

Bridge Course

नजिकिँदै गरेको स्थानीय निर्वाचनका लागि राजनैतिकदलले आफ्नो घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले “जनमुखी स्थानीय सरकारः विकास र समृद्धिको आधार” शीर्षक दिएर स्थानीय निर्वाचन घोषणा पत्र – २०७९ सार्वजनिक गरेको छ । नेकपा समाजवादीको घोषणा पत्रमा ‘शिक्षामा सुधारः प्रगतिको आधार’ उपशीर्षक दिएर शिक्षा सम्बन्धी आफ्नो दृष्टिकोण सार्वजनिक गरेको छ ।

स्थानीय सरकारको प्रमुख प्राथमिकता सरकारी विद्यालयको शैक्षिक स्तर सुधार्नमा केन्द्रित हुने घोषणा पत्रमा उल्लेख गरिएको छ । सरकारी विद्यालयहरूमा माध्यमिक तहसम्मको शिक्षामा उच्च गुणस्तर कायम गर्दै निःशुल्क शिक्षा उपलब्ध गराउने समाजवादीले उद्घोष गरेको छ ।

समाजवादीले आफ्नो घोषणापत्रमा सामुदायिक विद्यालयको शिक्षाको स्तर कमजोर रहेको हुँदा पठन–पाठनको स्तर सुधार्नका लागि केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

‘संविधान र कानुनअनुसार पूर्वप्राथमिक तहदेखि माध्यमिक तहसम्मको शैक्षिक व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिइएको छ । देशव्यापीरूपमा आधारभूत विषयमा एकीकृत पाठ्यक्रम र पाठ्य विधि, परीक्षा र मूल्याङ्कनको एकीकृत प्रणाली, शिक्षकहरूको योग्यता निर्धारणसम्बन्धी एकीकृत कानुन र मापदण्ड लागु भएमा मात्रै शैक्षिक गुणस्तरलाई राष्ट्रव्यापी रूपमा समान स्तरमा लैजान सकिन्छ । त्यसपछि मात्रै स्थानीय विशेषताअनुसार थप पाठ्यक्रम लागु गर्न पाउने व्यवस्था हुनु पर्दछ । यसो गर्नका लागि सङ्घीय स्तरबाटै आवश्यक व्यवस्था गरिने छ ।’ घोषणापत्रमा उल्लेख गरिएको छ ।

सहकारी वा गुठीमा रूपान्तरण हुन चाहने नजी लगानीका विद्यालयहरूलाई विशेष सुविधा दिने केन्द्रीय नीति बनाइने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

विद्यार्थीहरूले माध्यमिक तह (कक्षा १२) को शैक्षिकस्तर पूरा गरे पछि मध्यम स्तरको दक्ष नागरिक बन्ने गरी पाठ्यक्रममा सुधार गर्नका लागि संघीय तहबाट आवश्यक व्यवस्था गरिने, माध्यमिक तह उत्तीर्ण गरेको विद्यार्थी स्वरोजगार हुनसक्ने गरी पाठ्यक्रममा आवश्यक परिमार्जनका लागि तीनओटै सरकारलाई अभिमुख गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘सिपमूलक, प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखिने छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि ‘एक पालिका, एक प्राविधिक शिक्षालय’ अवधारणाअनुसार प्राविधिक शिक्षामा जोड दिइने छ ।’ घोषणापत्रमा लेखिएको छ, ‘ प्राविधिक जनशक्ति उत्पादनका लागि अल्पकालीन र मध्यकालीन अभिमुखीकरण र तालिमका लागि साधनसम्पन्न तालिम केन्द्रहरू स्थापना गरिने छ । स्थानीय तहमा माध्यमिक तहसम्म प्राविधिक जनशक्ति उत्पादन गर्ने थलोका रूपमा विकास गरिने छ ।’

अभिभावक गुमाएका बालबालिकाको भरणपोषण, संरक्षण तथा अध्ययनमा सहयोग पु¥याउनका लागि प्रत्येक पालिकामा ‘बालसंरक्षण कोष’ स्थापना गरिने घोषणा पत्रमा उल्लेख गरेको छ ।

हरेक पालिकामा सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने घोषणापत्र मार्फत उद्घोष गरेको छ । त्यस्तै हरेक पालिकामा आवश्यक उपकरणहरू तथा सुविधा सहितको ‘इ लाइबे्ररी’ को स्थापना र सञ्चालनगरिने घोषणा पत्रमा उल्लेख गरेको छ ।

यस्तो छ नेकपा सामाजवादीले स्थानीय तहको निर्वाचनका लागि तयार गरेको घोषणा पत्रमा शिक्षाः

A Levels MA