A Levels MA

शैक्षिक क्यालेण्डरमा संसोधन गरी लागू गर्न प्याब्सनको निर्देशन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सनले) आफ्नो शैक्षिक क्यालेण्डरमा संसोधन गरी लागू गर्न मातहतका  समितिहरुलाई निर्देशन दिएको छ ।

प्याब्सनले आज एक सूचना जारी गरी नेपाल सरकारद्वारा २०७९ बैशाख २६ गते राजपत्रमा प्रकाशित सूचना अनुसार २०७९ जेठ १ गतेदेखि परीक्षणको रुपमा शनिबार र आईतबार सार्वजनिक बिदा दिने निर्णयले शैक्षिक क्षेत्रमा पर्न जाने असरलाई मध्यनजर गर्दै यस्तो निर्देशन दिएको जनाएको  छ ।

‘लगातार दुई दिन सार्वजनिक विदा गर्दा राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निर्दिष्ट गरे बमोजिम पाठ्यघन्टा र कार्यघन्टा कार्यान्वयनको ग्यारेण्टी नहुने निश्चित प्रायः देखिन्छ । यद्यपि विश्वव्यापी रुपमा देखिन थालेको आर्थिक संकट र त्यसबाट नेपालमा पर्ने प्रभावलाई समेत ध्यानमा राख्दै इन्धन एवम् अन्य आयात हुने वस्तुहरुको उपभोग घटाउने उद्देश्यका साथ नेपाल सरकारले गरेको अल्पकालीन परिस्थितिजन्य निर्णयलाई आत्मसात गर्दै विद्यालयहरुले पाठ्यक्रमको पाठ्यभार फरक नपर्ने गरी आवश्यकता अनुसार हिउँदे, बर्खे, पर्व, उत्सब र दिवस लगायत स्थानीय बिदाका दिनहरू समेत कटौती गरी, हाइबिड अनलाईन भर्चुअल विधिमार्फत पठनपाठन हुने कक्षालाई समेत मध्यनजर गर्दै प्याव्सनद्वारा निर्मित शैक्षिक क्यालेण्डरमा संसोधन गरी लागू गर्न प्याब्सनका पालिका समितिहरुलाई आव्हान गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

सरकारलाई यो अल्पकालीन व्यवस्थाका बिच अन्य थुप्रै बिदाहरुको पुनरावलोकन गरी समायोजन गर्ने र कार्यदिन बढाउन पनि जोडदार माग  गर्दै  अल्पकालीन परीक्षण पश्चात् यथावत रुपमा शैक्षिक(सत्र २०७९ मा १८० दिन पठनपाठन हुने सुनिश्चितता सहित कक्षा सञ्चालन  गर्न निर्देशन दिएको हो ।

केन्द्रीय प्याब्सनको निर्देशन बमोजिम स्थानीय प्याब्सनले सदस्य विद्यालयहरुलाई सहज ढङगले कक्षा सञ्चालनका लागि सहजीकरण गर्न र शैक्षिक सत्र पुरा गराउन आवश्यक भूमिका निर्बाह गर्न निर्देशित गरेको छ ।

 प्याब्सनको चिन्ता 

दुई दिन लगातार बिदा गर्दा विद्यालय शिक्षाको शैक्षिक क्यालेण्डर प्रभावित हुने विषयप्रति प्याब्सन गम्भीर एवम् चिन्तित भएको  विज्ञप्तिमा जनाएको छ ।

शिक्षा क्षेत्र निजामती, उद्योग, व्यवसाय, उत्पादन तथा अन्य सेवा क्षेत्रभन्दा भिन्न प्रकृतिको रहेको र राज्यले प्रदान गर्ने सार्वजनिक बिदाहरु यस अघि नै अत्याधिक भएको सन्दर्भमा आइतवारको बिदा समेत थपिने हुँदा यसबाट विद्यार्थीको सिकाई निरन्तरता एवम् शैक्षिक क्रियाकलापमा पर्नजाने नकरात्मक प्रभावप्रति हामी सबै संवेदनशिल हुन जरुरी  भएको विज्ञप्तिमा  उल्लेख छ ।

कोभिड महामारीको कारणले अक्रान्त बनेको शिक्षा क्षेत्र र लामो समयसम्म भौतिक रुपमा विद्यालय गतिविधिमा सहभागी हुन नसकेका बालबालिका र ऊनीहरुको शैक्षिक भविष्यसंग जोडिएका यस्ता संवेदनशील विषयमा निर्णय गदा सम्बन्धित निकायले सरोकारवालाहरुसंग समयमै समन्वय नगर्नु दुःखद भएको प्याब्सनले जनाएको छ ।

हालको विशेष परिस्थितिमा अर्को सहज अवस्था सिर्जना नभएसम्म अस्थायी रुपमा राज्यकोषको भारलाई कम गर्न गरेको प्रयत्नमा प्याब्सनको भूमिका सहयोगी रहने समेत विज्ञप्तिमा  उल्लेख गरिएको छ । साथै प्याब्सनले  मितव्ययिताका अन्य थुप्रै विकल्प माथि पनि सरकारले बेलैमा ध्यान पुयायोस् भन्ने ध्यानाकर्षण ध्यानाकर्षण गराएको विज्ञप्तिमा  उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books