त्रिभुवन विश्वविद्यालयको बार्षिक नीति तथा कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले हस्तक्षेप गरेको भन्दे विद्यार्थीहरुले आन्दोलनको घोषणा गरेका छन् ।
सात विद्यार्थी संगठन (अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल समाजवादी, समाजवादी विद्यार्थी यूनियन, नेपाल, अखिल नेपाल विद्यार्थी यूनियन, अखिल छैटौ), ले संयुक्त विज्ञप्ति जारी गर्दै आज आन्दोलनको घोषणा गरेका हुन् ।
सात विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै साउन २२ गते देखि देशव्यापी त्रिविका आंगिक क्याम्पसमा संयुक्त विरोध व्यानर राख्ने, साउन २३ गते त्रिविका पदाधिकारी ( उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार) संग छलफल र ध्यानाकर्षण गर्ने र २८ गते त्रिवि किर्तिपुरमा संयुक्त अन्तरक्रिया कार्यक्रम गरी पहिलो चरणको आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
पहिलो चरणका संघर्षका कार्यक्रमहरुपछि दोस्रो चरणका कार्यक्रमहरु घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।
‘त्रिवि सभा (सिनेट) को बैठकमा नीति तथा कार्यक्रम पेस गर्न नदिएको घटनाप्रति संयुक्त विद्यार्थी संगठन घोर आपत्ति प्रकट गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ पदाधिकारीहरुको नियुक्ति संगै विश्वविद्यालय सुधारको उत्कट चाहना वोकेका लाखौं विद्यार्थीहरु र समग्र जनताको मनोभावनामा यस कदमले गम्भीर तुषारापात गरेको छ । प्रधानमन्त्री ओलीको यो कदमले विश्वविद्यालय राजनीतिक हस्तक्षेप गर्ने घृणित पुरानो खेल दोहोरिएको आभाष भएको छ ।’
त्रिविको परिक्षा नियन्त्रण कार्यालयवाट उत्तरपुस्तिकाहरु हराएको विषयमा गठित छानविन समितिको प्रतिवेदन समेत कार्यान्वयन र दोशी उपर कारवाहि गरिएको छैन ।
विद्यालय शिक्षा विधेयक २०८० को मुल मर्मलाई तोडमोड गरिएको छ भने राज्य यसलाई संसदबाट पास गर्न र लागु गर्न समेत चरम ढिलासुस्ती गरिरहेको छ ।
तसर्थ हामी सयुक्त विद्यार्थी संगठनहरु विश्वविद्यालयमा भएको यस प्रकारको अशोभनिय राजनीतिक हस्तक्षेप र शिक्षा क्षेत्रका समस्याहरु केन्द्रीत पहिलो चरणमा निम्न संघर्षका कार्यक्रमहरु घोषणा गदछौं ।