शिक्षक पेसागत विकासका लागि सम्झौता

काठमाडौँको भङ्गालस्थित भ्याली पब्लिक हाइस्कुल र काठमाडौँ विश्वविद्यालयबीच पेसागत विकासका लागि सम्झौता भएको छ ।

आज आयोजित कार्यक्रममा दुवै संस्थाबीच सम्झौतापत्र आदानप्रदान भएको छ ।

सम्झौताअनुसार काठमाडौँ विश्वविद्यालयले शिक्षक पेसागत विकाससम्बन्धी योजना सो स्कुलमा कार्यान्वयन गर्न सघाउने छ ।

यसैगरी इन्सपायर एजुकेसन फाउन्डेसनसँग शिक्षक तालिम, विषयगत तालिम, अभिभावकत्वसत्र, विद्यालय प्रणाली, स्रोतसामग्री निर्माण आदिका बारेमा ४८ वटा भौतिकसत्र र ४८ वटा विद्युतीयसत्र सञ्चालन गर्न सम्झौता भएको छ ।

आजै पुस्तकालय विकास कोषसँग विद्यालयको पुस्तकालयमा करिब एक लाख ६० हजारको सङ्ख्यामा भौतिक तथा विद्युतीय माध्यमका पुस्तक उपलब्ध गराउन पनि सम्झौता भएको छ । हाइस्कुलका संस्थापक प्रिन्सिपल कृष्ण अधिकारीले सामुदायिक विद्यालयहरुलाई पनि पुस्तकालय विकासमा सहयोग पुर्याइने जानकारी दिए ।