एनओसी लिने विद्यार्थीको संख्या निरन्तर वृद्धि

पछिल्लो समय उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या निरन्तर बढी रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार  साउनदेखि आजसम्म ८० हजार विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन् ।

शाखाले एनओसीका लागि अनलाइन आवेदनको व्यवस्था गरेको छ । अनलाइनमा आवेदन आएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिन थालिएको छ । बिहीबारमात्रै छ सय नौ अनलाइन आवेदन परेकामा पाँच सय २९ आवेदन स्वीकृत भएको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव वासुदेव वस्तीले जानकारी दिए । उनका अनुसार आवेदन स्वीकृत भएका पाँच सय आवेदकले आज एनओसी पत्र पाउनेछन् ।

वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार विसं २०७८ को वैशाखमा  एक हजार ६९६, जेठमा ४५६, असारमा ३ हजार १०९, साउनमा ५ हजार ३४१, भदौमा५ हजार ८६०, असोजमा ४ हजार ९६३, कात्तिकमा ३ हजार ७५७, मङ्सिरमा ५ हजार ६९५, पुसमा ७ हजार ८५, माघमा ९ हजार ५१३, फागुनमा १३ हजार ९७२ र चैतमा १६ हजार ३४८ जनाले एनओसी लिएका थिए ।

यस वर्षको वैशाखमा १५ हजार ७७१ र जेठमा १४ हजार ६१३ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएका छन् । अध्ययनका लागि अष्ट्रेलिया, जापान, अमेरिका र क्यानडा जानेको सङ्ख्या बढी छ । हाल औसतमा दैनिक छ सय जनाले वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ ।