त्रिवि जग्गा तथा सम्पत्ति खोजबिन समिति संयोजक परिवर्तन

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको संयोजक परिवर्तन भएका छन् ।

सरकारले अघिल्लो सरकारले नियुक्त गरेका संयोजक शारदाप्रसाद त्रिताललाई बिरामी भएको भन्दै दोस्रो संयोजकका रुपमा महेन्द्रबहादुर थापालाई तोकेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असोज २ गतेको मन्त्री परिषद् बैठकका निर्णय शुव्रmबार सिंहदरबारमा सार्वजनिक गर्दै  थापालाई संयोजक तोकेको जानकारी दिए ।

सञ्चारमन्त्री गुरुङले त्रिविको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको समेत जनाएका छन् ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत जेठ १७ गते त्रितालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

समितिले त्रिविका नाममा विभिन्न ठाउँका जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य चलअचल सम्पत्तिको खोज तथा लगत सङ्कलन, संरक्षण, उपयोग, व्यवस्थापनबारे अध्ययन गरी प्रतिवेदन तयार गर्न कार्यादेश पाएको थियो ।