त्रिविका ७७५ शिक्षक तथा कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम दिइने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु. १ करोड २५ लाख बजेट विनियोजन गरेको छ। उक्त कार्यक्रमअन्तर्गत विश्वविद्यालयका ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाप्रवेश र सेवाकालीन तालिम प्रदान गरिनेछ।

त्रिवि समन्वय महाशाखाद्वारा शुक्रबार आयोजित जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले नौवटा विषयगत क्षेत्रमा तालिम सञ्चालन गर्ने कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो।

त्रिविका शिक्षाध्यक्ष प्रा. डा. अञ्जना सिंहको अध्यक्षतामा बसेको बैठकले विश्वविद्यालय सेवामा नवनियुक्त शिक्षक तथा कर्मचारीलाई विश्वविद्यालयको संगठनात्मक संरचना, कार्यप्रणाली, आचारसंहिता, अधिकार र कर्तव्यबारे अभिमुखीकरण प्रदान गर्ने निर्णय गरेको छ।

त्यसैगरी, प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिनेछ। कार्यक्रमअन्तर्गत विश्वविद्यालयका पदाधिकारी, क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा प्रशासनिक नेतृत्वको व्यवस्थापकीय र नेतृत्व क्षमता विकासमा समेत जोड दिइनेछ।

स्वीकृत तालिम कार्यक्रमहरूमा कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि प्रणाली तथा कार्यालय सञ्चालनसम्बन्धी दक्षता अभिवृद्धिका विषय पनि समेटिएका छन्।

यस कार्यक्रममार्फत विश्वविद्यालयले शिक्षक तथा कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै संस्थागत तथा प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।