त्रिविद्वारा पदाधिकारी छनोटका लागि आवेदन माग

त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका पदाधिकारी छनोटका लागि आवेदन माग गरेको छ ।

त्रिविले निर्देशक, सह परीक्षा नियन्त्रक, कार्यक्रम संयोजक तथा विभाग प्रमुख, विभिन्न संकायमा डिन, ११ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख, र पोखरा क्याम्पस प्रमुख तथा लेखा अधिकृतका लागि आवेदन माग गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खु र यसअन्तर्गत रहेका क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूमा ६ जना सह–परीक्षा नियन्त्रकका लागि आवेदन माग गरेको हो । त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ वटा संकायका डीनका लागि आवेदन माग गरेको छ ।

अध्ययन संस्थान तथा संकायका डिन र  शिक्षा तथा विकास अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक तथा योजना निर्देशनालयको निर्देशक, विभिन्न क्षेत्रीय परीक्षा नियनत्रण कार्यालयका लागि सह परीक्षा नियन्त्रक छनोटका लागि आवेदन माग गरेको छ । समितिले पोखरा क्याम्पस र देशभरका ११ वटा आङ्गिक क्याम्पसको प्रमुख नियुक्तिका लागि आवेदन माग गरेको हो । 

त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम १७५ (२) त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ मा उल्लेख भएबमोजिम त्रिविका अध्ययन संस्थान र संकायका डिन,  विनियमको परिच्छेद ४ को विनियम ७ बमोजिम सेरिडको कार्यकारी निर्देशक र विनियमको परिच्छेद १० को विनियम १९ बमोजिम योजना निर्देशनालयको निर्देशक पदका लागि  आवेदन माग गरेको छ ।

योग्य उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले सात दिन भित्रमा विनियममा उल्लेखित आवश्यक कागजातहरुका साथै आशयपत्र पेश गर्न माग गरेको छ ।

त्रिविले चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ्ग अध्ययन संस्थान, कृषि र पशुविज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा  डिनका लागि आवेदन माग गरेको छ । त्यसैगरी व्यवस्थापन संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय, र शिक्षाशास्त्र संकायको डिनका लागि आवेदन माग गरेकोछ ।

क्याम्पस प्रमुख छनोट समितिले काठमाडौं उपत्यकाका तीनसहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको छ ।

समितिले पोखरा क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका, ललितपुर क्याम्पस, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि समितिले दरखास्त मागेको सूचनामा उल्लेख छ।

योग्य उमेदवारहरुले सूचना प्रकाशित भएको सात दिनभित्र आवेदन दिनु पर्नेछ ।

त्रिवि, कर्मचारी प्रशासन महाशाखा पदपूर्ति समितिले दोस्रो पटक  सूचना जारी गर्दै लेखा अधिकृत नियुक्तिका लागि आवेदन माग गरेको छ ।

महालेखा परीक्षकको कार्यालयबाट अवकाश प्राप्त भई ६३ वर्ष उमेर ननाघेका अधिकृतहरुमध्येबाट १५ जना लेखाअधिकृत पदमा करार सेवामा बढीमा एक वर्षका लागि पदपूर्ति  गर्न आवेदन माग गरेको हो ।

विश्वविद्यालयका सम्पूर्ण निकायमा लेखापरीक्षण र बेरुजु फछ्यौट तथा सम्परीक्षण कार्य सम्पन्न गर्नका लागि  इच्छुक नेपाली नागरिकहरुले सात दिनभित्र त्रिवि र कर्मचारी प्रशासन महाशाखा, कीर्तिपुरमा आवेदन पेश गर्न सूचित गरेको छ ।

विस्तृत जानकारीका लागि त्रिविले आफ्नो वेबसाइट र सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ हेर्न समेत सूचनामा भनेको छ ।