बुक फ्रि फ्राइडेका कार्यक्रमले विद्यार्थीहरूमा ज्ञानको दायरा बढेकोः उपप्रमुख ढंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बुक फ्रि फ्राइडेका कार्यक्रमले विद्यार्थीहरुमा ज्ञानको दायरा बढेको बताएकी छिन् । हिजो बालुवाटारको महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा पुस्तकविहिन शुक्रबार कार्यक्रमका क्रियाकलापको निरीक्षण अवलोकनका क्रममा उनले यस्तो बताएकी हुन् ।

निरीक्षणका क्रममा उनले विद्यार्थीसँग कुराकानी गर्दै यस अघि सिकेका सिप र विद्यार्थीको वुझाइका बारेमा जानकारी लिएक थिइन् ।

सिपमा शिक्षा कार्यक्रमअन्तर्गत प्लम्बिङ्को ९० घण्टे तालिम पूरा गरेका विद्यार्थीलाई प्रश्न गर्दै उनले भनिन्, ‘घरमा विग्रिएका धाराको मर्मत गर्नुभएको छ त रु’ उत्तरमा विद्यार्थीहरुले, निर्माण भइरहेको नयाँ भवन देख्दा त्यसको प्लम्बिङ्को काम आफैँ गर्न सक्ने महसुस हुन थालेको प्रतिक्रिया दिए ।

यो सुनेपछि उपप्रमुख डंगोलले भनिन्, ‘हामीले शिक्षामा सिप कार्यक्रमबाट अपेक्षा गरेको नतिजा यस्तै हो । यो एउटा विधाको कुरा भयो, अन्य विधामा विद्यार्थीको आत्मविश्वाश बढ्यो भने विद्यार्थीहरूले माध्यमिक तहको शिक्षा पूरा गरेपछि आफूलाई उद्यमशीलताका लागि योग्य भएको महसुस गर्नेछन् । शिक्षाको गुणात्मक सुधार यही कार्यक्रमबाट प्राप्त हुनेछ ।’

‘बालबालिकाहरुसँग कुराकानी गर्दा उनीहरुले मनमा लागेको कुरा निर्धक्क र स्पष्ट सुनाए । विद्यार्थीहरुमा आएको यो आत्मविश्वाश नै हामीले चाहेको नतिजा हो ।’ उनले अपेक्षित नतिजाका विषयमा स्पष्ट पारिन् ।

उपप्रमुखसँग वडाध्यक्ष दिनेश महर्जन, शिक्षा अधिकारी सीताराम कोइराला निरीक्षणमा सहभागी थिए । निरीक्षण टोली विद्यालयमा पुग्दा विद्यार्थी नृत्य, चित्रकला, पाक कलालगायतका क्रियाकलापमा व्यस्त थिए । विद्यालयको कम्प्युटर ल्यावमा जुनियर विद्यार्थीहरू बाल कथामा आधारित चलचित्र हेरिरहेका थिए । सभा कक्षमा सिनियर कक्षाका विद्यार्थीहरू नेपालको राजनीतिक पृष्ठभूमिमा निर्माण भएको चलचित्र सेतो बाघ हेरिरहेका थिए ।

उपप्रमुख कक्षामा पुगेपछि विद्यार्थीहरू खुशी प्रकट गरेका थिए । उनीहरूले उपप्रमुखसँग दोहोरो संवाद गर्दै, स्थानीय टोल तथा सार्वजनिक महत्त्वका ठाउँहरू घुम्न गएको, हाजिरी जवाफलगायत क्रियाकलाप गरेको सुनाए ।

विद्यालयले सिपमा शिक्षा कार्यक्रम अन्तर्गत प्लम्बिङ्को ९० घण्टे तालिम पूरा गरेको छ । शिक्षा अधिकारी कोइरालाका अनुसार ९० घण्टे तालिमको पहिलो चरणमा ८० समूहलाई तालिम दिइसकिएको छ ।

सो विद्यालयमा अहिले  ५५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा गागलफेदी, सुन्दरीजल, कलंकीलगायतका स्थानबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन् ।