बालेनले गरे एकैपटक छ शिक्षकको सरुवा

चरम राजनीति हुँदै आएको काठमाडौँको डिल्लीबजारस्ति विजय स्मारक माध्यमिक विद्यालयका छजना शिक्षकलाई एकैपटक सरुवा गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले यसरी शिक्षक सरुवा गरेको हो । सरुवा भएकामध्ये दुई जनाले शुक्रबार नै पत्र बुझेर नयाँ विद्यालयमा हाजिर भइसकेका छन् । नगर प्रमुख बालेन्द्र साहको निर्देशनमा ती शिक्षक सरुवा भएको कामपा सूत्रले जानकारी दिएको छ ।

सरुवा हुनेमा शिक्षकहरु गाेविन्द ढकाल, नविन गजुरेल, डा. टीका ढकाल, इनु पहाडी, सुस्मिता राणा हमाल र ग्याम्सो लामा रहेका छन् । महिला शिक्षक सबै प्राथमिक तहका हुन् भने पुरुष सबै माध्यमिक तहका हुन् ।

सो विद्यालयमा निकै अघिदेखि शिक्षक दुई गुटमा थिए । दुवै गुटबीच पानी बाराबारको स्थिति थियो । त्यसैबीच गत असोजमा गणित शिक्षक नवीन गजुरेलमाथि त्यहाँका महिला शिक्षकले हातपात गरेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको थियो ।

सो घटनापछि कामपाले छानविन टोली गठन गरेको थियो । सो टोलीको सिफारिसका आधारमा ती शिक्षकलाई सरुवा गरिएको हो । ती शिक्षकलाई रत्नराज्य मावि, पद्मोदय मावि, दरबार हाइस्कुल आदिमा लगिएको छ ।

कामपा नगरप्रमुख बालेन साहका एक सल्लाहकारले आफ्नो नाम उल्लेख नगरिदिन भन्दै बताए, “प्रधानाध्यापक डिल्ली शर्मालाई सरुवा गर्न चाहेका थियौँ तर उनको प्रअको समयावधि डेढ महिना जति बाँकी भएकाले शिक्षकलाई नै सरुवा गर्नु उपयुक्त ठहर्यायौँ ।”

सरुवा भएका महिला शिक्षक प्रअ पक्षधर हुन् । प्रअ शर्माले शिक्षकलाई गर्ने गरेको व्यवहारप्रति शिक्षक सन्तुष्ट थिएनन् । सोही कारण शिक्षक दुई गुटमा विभाजित थियो । ती तीनैजना महिला शिक्षक लामो समयदेखि सो विद्यालयमा कार्यरत थिए । सो विद्यालयले गरेको आर्थिक अपचलनका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छनविनकै क्रममा रहेको बुझिएको छ ।