नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, प्रहरी कल्याण कोष र प्रभु बैङ्क लिमिटेडबीच ‘नेपाल प्रहरी–प्रभु बैङ्क छात्रवृत्ति अक्षयकोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अक्षयकोष स्थापनाका लागि २५ लाख रुपियाँको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदानप्रदानसमेत गरियो ।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने यस कार्यका लागि प्रभु बैङ्कलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल बढ्ने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचनले नेपालको एउटा व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैङ्कबीच सहयोग र सहकार्य आदानप्रदान हुने बताए ।
नेपाल प्रहरी कार्ययोजना, २०७९ को प्रहरी हवल्दार तथा जवान लक्षित कार्यक्रमअन्तर्गत नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमररशहीद एवं अशक्त परिवारका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारका सन्ततीलाई सबल, सक्षम, योग्य र कर्मठ नागरिक बनाउने उद्देश्यका साथ यो सम्झौता भएको नेपाल प्रहरीले जनाएको छ ।
सम्झौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमररशहीद एवं अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीलाई कम्तीमा दुईजना जेहेन्दार विद्यार्थी छात्रवृत्ति वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडा समेत निरन्तर उपलब्ध हुनेछ ।
छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रुपियाँ प्रभु बैङ्क लिमिटेडले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी–प्रभु बैङ्क छात्रवृत्ति अक्षय कोष’को स्थापना गर्ने र उक्त खाता सञ्चालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीको समयानुकूल शुल्क परिमार्जन भई वृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या सामाधान गरिने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।
उक्त समझदारीपत्रमा नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र प्रभु बैङ्क लिमिटेडको तर्फबाट बैङ्कका मुख्य प्रबन्धक मञ्जयराज पाण्डेले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच बिहीबार हस्ताक्षर गरेका थिए ।