केयूको उपकुलपतिमा प्रा.डा.अच्युत वाग्ले नियुक्त

 काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा.डा.अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् ।

विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट डा वाग्लेलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले वाग्लेलाई  सोमबार नियुक्त गरेका हुन्  ।

उनको नियुक्ति खोज र सिफारिस समितिले उपयुक्त उम्मेदवारहरू पहिचान गर्न गठन गरिएको छनोट प्रक्रिया पछि गरिएको हो | काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा रहेको समितिले सुरुमा २० योग्य आवेदकहरूमध्येबाट १० जना उम्मेदवारहरूको संक्षिप्त सूची तयार पारेको थियो।

छनोट प्रक्रिया काठमाडौं विश्वविद्यालय उपकुलपति खोज तथा सिफारिस कार्यविधि, २०८१ अनुसार गरिएको थियो, जसमा प्रस्तुतीकरण र अन्तर्वार्तामा जानुअघि उम्मेदवारहरूलाई धेरै मापदण्डमा मूल्याङ्कन गरिएको थियो। प्रस्तुतीकरण र अन्तर्वार्ता पछि, समितिले प्रधानमन्त्रीलाई तीन उच्च अंक प्राप्त गर्ने उम्मेदवारहरूको सिफारिस गरेको थियो, जसमध्येबाट डा. अच्युत वाग्ले चयन भए।

वाग्ले पूर्व उपकुलपति भोला थापाको कार्यकाल माघ ४ गते सकिएदेखि वाग्लेलाई कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नभएसम्मका लागि कायममुकायम उपकुलपतिको जिम्मेवारी प्रदान गरेका थिए ।  यस अघि पनि उनलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ असोज २ गते रजिष्ट्रारको पदमा   नियुक्त गरेका थिए ।

उनले  विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सहायक डीन, उक्त स्कुलको विज्ञान विभागको प्रमुख र एड्जङ्कट प्रोफेसर रहेर काम गरिसकेका छन् ।