पढाइमा ध्यान नदिने छोरालाई बाबुको चिठ्ठी

 

प्रिय छोरा,

तिम्रो अठारौ जन्मदिनको अवसरमा तिमीलाई धेरै धेरै उत्कृष्ट शुभकामना र आशीर्वादहरु ! समय कति छिटो बित्यो पत्तै भएन तिमी कति चाडै ठूलो भयौ। आज म तिमीलाई पहिले को जस्तो खेलौना, चकलेट, लुगा वा पुस्तक होइन अरु नै केही उपहार दिदैछु । त्यो विशेष उपहार भनेको केही अर्ति उपदेश हो जुन मैले अहिलेसम्मको अनुभव र ज्ञानले आर्जन गरेको छु।

छोरा, हिजोजस्तो लाग्छ, तिम्री आमाले तिमीलाई सफल रुपमा जन्मदिएपछि त्यो अस्पतालमा एउटी नर्सले एउटा सानो तौलियामा बेरेर  मलाई हातमा सुम्पेको र तिमीले ट्याउ.. गरी आँखा खोल्दै हाइ गरेको । त्यो सानो खेलाउना जस्तो कुरा बढ्दै बढ्दै गएर अहिलेको अग्लो सुन्दर केटो बनेको पाउँदा जादु जस्तै लाग्छ ।

आफूमा हुन नसकेका गुणहरु जस्तो अग्लोपन, सुन्दरता, आत्मविश्वास, तेज दिमाग तिमीलाई भगवानले दिएकामा गर्व पनि लाग्छ । सायद तिमीमा भएको धेरै गुणहरु मध्ये एकाध पनि ममा छैन भन्दा मलाई संकोच लाग्दैन । पढाइकै कुरा गर्दा पनि कुनै नयाँ कुरा सिक्न वा याद गर्न मलाई घन्टौ लाग्छ तर तिमी एकै छिनमा केन्द्रित भएर गर्न सक्छौ ।

तिमीलाई सकेसम्म असल संस्कार दिने कोशिस भएको हो । भाग्यवस धेरै लामो समय तिमीसँग छुट्टिएर बुबाको जिम्मेवारी बहन गर्ने मौका मैले चुकाउनु परेन अरु कयन विदेशिएका पिताहरुले जस्तो । आमाको ममताको पनि तिमीलाई खडेरि परेन । सानोदेखि पढाइमा मात्र फोकस गर भनेर मैले कहिले थोपरिनँ । त्यसैले अतिरिक्त क्रियाकलाप विशेषगरी खेलकुदमा तिमीले राम्रै संलग्नता जनाउन पायौ । तर पढाइ नै गर्नुपर्दैन भन्ने उग्र धारणा पनि लादिनँ ।

पहिले त ठीकठाक नै थियो । तर विगत २ वर्षदेखि तिमीमा केही जिद्दीपना अनि पढाइप्रति वेवास्ता बढ्दै गएको कुराले हामीलाई धेरै चिन्ता लागेको छ । सायद यो उमेरको दोष हो वा साथी-संगीको प्रभाव अहिले तिम्रो व्यवहार र सोचाइ हेर्दा बडो ताजूव लाग्छ । अहिले धेरै समय घर बाहिर बस्ने, घरमा बनाएको खाना नखाई बाहिरबाट ल्याउने वा उतै खाने बानी पनि विस्तारै बढेको छ ।

अधिकांस समय मोबाइलमा इ-खेल खेल्ने वा मनोरजनात्मक कार्यक्रमहरुमा अधिक समय बिताउने गर्छौ र विभिन्न बहानामा स्कुल पनि बारम्बार गयल हुन्छौ । उपस्थिति नै जनाएपनि पछाडि तिर बसेर समय कटाउने गरेको कुरा तिम्रा गुरुगुरुआमाहरुले समेत महसुस गर्नथाल्नु हुदै छ । यसले गर्दा जीवनमा कहिल्यै पढाइमा समस्या नभएको केटोलाई सबै विषय पास गर्न पनि मुस्किल मुस्किल हुनु सामन्य कुरा होइन ।

दामी होटेल, महँगा लुगा, दह्रो पाकेट खर्च, अनि बाइकको माग गरी दवाब दिने तर आफूले खाएर फालेको कुरकुरेको प्याकेटसम्म सही ठाउँमा विसर्जन नगर्ने बानी अति अस्वाभिक छ । त्यसमाथि साथीहरु जम्मा गरेर डुल्ने वा उतै आधारात सम्म बस्नेखाने बानीले पनि मेरो टाउको दुखाउँछ ।

यो कुरा तिमीले स्नातक सकाएर आफ्नै खुट्टामा उभिएपछि गरेको भए उति नौलो हुने थिएन तर अहिले अझ कडा मेहनत बढी अनुशासित हुनुपर्ने बेला अनि पढाइमा बढी नै फोकस गर्नुपर्ने बेला तिमीले उल्टो गरिदिदा हामीलाई धेरै ठूलो चोट पुग्छ।

सायद तिमीलाई पनि थाहा होला पढाइमा राम्रो गर्ने मान्छे समाजमा चाडै घुलमिल गर्न सक्छ किनकि उसले इज्जत पाउछ अनि व्यापार वा अरु पेशा गर्दा पनि बढी सफल हुन्छ । र जीवनमा सम्पन्न पनि बन्छ। १२ कक्षा अघि तिमीले के पढ्यौ वा के अंक ल्यायौ त्यो खासै मतलव हुदैन तर १२ र पछिको चाहि बिहे गर्ने देखि विदेस जाँदा सम्म अति नै महत्त्वपूर्ण मानिन्छ ।

छोरा, तिमीलाई थाहा छ कि छैन संसारमा तिम्रा उमेरका धेरै केटाकेटीहरुले पढ्ने अवसर गुमाइसकेका हुन्छन् विविध कारणहरुले। कसैको आर्थिक हैसियत हुदैन भने कति अपराध र कुलतको बाटोमा फसेर जेलको कालो कोठीमा बन्द हुनछन् । लाखौजना पारिवारिक समस्याले विदेछिन्छन् भने कति बालश्रम मा जाकिन्छन्। त्यस्तै कति ठाउँमा राम्रा विद्यालय छैन भएका ठाउँमा राम्रा गुरुहरु छैनन् वा त्यो लामो दूरीमा रहेकाले अपायक पर्छ। कति चाहि घरको काम गरेर भ्याएको समय मात्र गर्छन् नेपालका दूरदराज मात्र होइन विकसित भनिका देशमा समेत। विदेस जान विवस युवासँग न गुणस्तरीय शिक्षा छ न त राम्रा सीप-कौशल।

चौतर्फी हेर्दा तिमीलाई लाग्न सक्छ कि पढेको मान्छे कहाँ ठूला भाछन् र? किनकि तिमीले मिडियामा देख्ने नेताहरु वा सेलिब्रेटिहरु अधिकांश व्याकबेन्चर थिए होलान्। तर यति ठूलो दुनियाँमा अरु लाखौ मान्छेहरु पनि छन् जो दुःख र कडा परिश्रम गरेरै माथि आएका छन् । खासमा यस्ता व्यत्किहरुका योगदानले नै हाम्रो देश यति सम्म भए पनि बचेको छ। महाबिर पुन, डा भगवान कोइराला, डा सुरेशराज शर्मा, डा सन्दुक रुइत, आदि त केही नामहरु हुन् अरु हजारौ कर्मशील असल नेपालीहरु अहोरात्र खटेर योगदान दिदै छन् पर्दा पछाडिबाट जसलाई न मिडियाको कभरेज चाहिएको छ न भागभन्डा को खिर । त्यस्ता मानिसहरुलाई चाहि हामीले साच्चै नमन गर्नुपर्छ।

मलाई विश्वास छ यो मन्त्र तिमीले आजकै दिनदेखि अपनाएर पढाइमा पनि अग्लो हाइट लिने छौ ताकि तिमीलाई पछि कुनै पछुतो नहोस्! भगवानले तिम्रो सदा कल्याण गरुन्। यसपालीको जन्मदिनको कोशेली पनि तिमीले सहर्ष स्वीकार्ने छौ भन्ने दह्रो विश्वास लिएको छु !

उही तिम्रो बुबा !

Thuprai - Books and E-books