केशरमहलको प्रवलीकरण थालियो

केशर पुस्तकालयभित्रका पुस्तकलाई अन्यत्र नसार्दै केशरमहलको प्रवलीकरण थालिएको छ ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेर जबराका निजी पुस्तक केशर पुस्तकालयका कोठामा बन्द छन् । २०७२ सालको भूकम्पले केशरमहल क्षतिग्रस्त भएपछि राष्ट्र्यि पुनःनिर्माण प्राधिकरणले सो भवनको प्रवलीकरण थालेको हो ।

पुस्तकालय प्रमुख दशरथ मिश्रले केशरशमशेरका पुस्तक सार्न बजेट नभएको बताउँदै भने, "भित्र पुस्तकहरु बन्द छन् । बाहिर प्रवलीकरण थालिसकिएको छ । भवन प्रवलीकरण गर्दा भित्र रहेका पुस्तकलाई निश्चय पनि असर गर्दछ । तर रकम नभएकाले पुस्तक भवनभित्र थुनिएका छन् ।"

उनले पुस्तक सार्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग पाँच लाख रुपियाँ बजेट माग गरेको बताए । केशरशमशेरका ३० हजारभन्दा बढी पुस्तक दराजमा थुनिएका छन् ।

सो भवन प्रवलीकरण गर्ने भएपछि नजिकै प्रिफ्याबको टहरा बनाइ पुस्तकालयका केही शाखाका पुस्तक तथा पत्रपत्रिकालाई सारिसकिएको छ । सो टहराले पनि नपुग्ने भएपछि अर्काे नयाँ टहरा निर्माण गरिँदैछ । 

उनले मन्त्रालयले बजेट उपलब्ध गराएपछि केशरमहलको दक्षिण पश्चिमतर्फको एनेक्स भवनमा केशरशमशेरका पुस्तकलाई सारिने बताए ।

प्रवलीकरण गर्न करिव डेढ वर्ष लाग्ने जनाइएको छ । सो भवनमा रहेको नेपाल भ्रमण वर्ष २०२० को सचिवालय पनि अन्यत्र सर्ने भएको छ ।  सिंहदरबारभित्र सर्नुअघि शिक्षा मन्त्रालय केशरमहलमा थियाे ।