८३ जना शिक्षकलाई दीर्घसेवा सम्मान प्रदान

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले ८३ जना शिक्षकलाई दीर्घसेवा सम्मान प्रदान गरेको छ ।

नेशनल प्याब्सन भक्तपुरको डोलेश्वरमा आयोजित नवौँ वार्षिक साधारणसभामा विगत १० वर्षदेखि अनवरत रूपमा सेवा गरेका शिक्षकलाई दीर्घसेवा सम्मान प्रदान गरेको हो ।

साधारणसभाको उद्घाटन सत्रमा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले ८३ जना शिक्षकलाई दोसल्ला ओढाएर दीर्घसेवा सम्मान वितरण गरे ।

कार्यक्रममा मन्त्री थापाले शिक्षासँग स्वास्थ्यलाई पनि जोडेर लैजानुपर्नेमा जोड दिँदै शिक्षक तथा विद्यार्थीलाई स्वस्थ राख्न विद्यालयले स्वास्थ्य शिविरलगायत कार्यक्रम विद्यालयमै गर्नुपर्ने औँल्याए ।

उनले भने, “प्रत्येक विद्यालयले वर्षमा कम्तीमा पनि एउटा स्वास्थ्य शिविरको आयोजना गर्नस्, विद्यार्थीलाई स्वस्थ राख्नुस्, त्यसका लागि प्राविधिक सहयोग हामी गर्छौँ, भक्तपुर अस्पताल, सूर्यविनायक नगर अस्पतालबाट सेवा प्रवाह गर्छौँ, प्रत्येक विद्यालयमा यो अभियान चलाउनुस् ।”

एन प्याब्सन भक्तपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति सञ्जय खड्काले एउटै विद्यालयमा १० वर्षसम्म सेवा गर्ने शिक्षकलाई यस वर्षदेखि सुरु भएको सम्मान अब हरेक वर्ष सञ्चालन गर्ने बताए ।

उनले एन प्याब्सन भक्तपुरकै नेतृत्वमा निजी क्षेत्रको सहयोगमा यस संस्थाअन्तर्गत रहेका विद्यालयका शिक्षकदेखि विद्यार्थीसम्मलाई रु एक लाखको निःशुल्क दुर्घटना बीमाको व्यवस्था गरेको बताए ।