पाठ्यपुस्तक दिन नसक्ने सरकारको के काम ?
नेकपा एमाले नेता एवम् प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवारले शैक्षिक सत्र एक महिना बितिसक्दा पनि विद्यार्थीलाई पाठ्यपुस्तक दिन नसक्ने सरकारको के काम भन्दै सांसद्मा सरकारको आलोचना गरेका छन्।
विनियोजन विधेयकमाथिको आजको छलफलमा बोल्दै उनले शिक्षामन्त्रीलाई प्रश्न गर्दै गरे । ‘विद्यार्थीलाई पुस्तक दिन नसक्ने सरकारले के हेरे बसेको छ ?’ उनलेभने, ‘बजेटमा शिक्षा नीतिलाई कार्यान्वयन गर्ने कुनै विषय समेटिएको छैन। सरकारको नीतिमा शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग र रोजगारीलाई उत्पादनसँग जोड्ने भनिए पनि शिक्षामा १६ प्रतिशत बजेट छुट्टाउनुपर्नेमा करिब १२ प्रतिशत मात्र बजेट विनियोजन गरिएको छ।’ ‘राज्यको नीति मौलिक हकमा भएको शिक्षाको व्यवस्था होस् वा दिगो विकासको लक्ष्यमा होस्। शिक्षाको महत्त्वलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने हो। राज्यको पुनर्संरचना भए पनि संघीय शिक्षा ऐन अभावमा विद्यालयदेखि विश्वविद्यालय शिक्षा प्रभावित बन्न पुगेको छ’, उनले भने।
सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई सेन्टरअफ एक्सिलेन्स बनाइने भनेर उल्लेख गरिएको भए पनि त्रिभुवन विश्वविद्यालय ५ महिनादेखि बन्द हुँदा सरकार मौन बसिरहेको उनको भनाइ छ।
त्रिविमा राजनीतिक संरक्षणमा तालाबन्दी गरिएको र त्रिवि होस् वा संस्कृत विश्वविद्यालय होस् कसैको स्वार्थले यस्तो गतिविधि हुने गरेको आरोप उनले लगाए।
