After SEE Portal

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ: प्रधानमन्त्री

Bridge Course

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् । 

पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

“पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयारगरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो । आगामी दिनमा यस क्षेत्रको अधिक जनसङ्ख्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेछु ।”

कृषि, उद्योग र पर्यटन विकासमा टेवा पुर्‍याउने र जनताको जीवनस्तरमा सुधार ल्याउनेगरी सडक सञ्जाल विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रणनीतिक महत्त्व बोकेको बिराटनगर चक्रपथ निर्माणलाई आगामी आर्थिक वर्षदेखि योजनाबद्ध तवरले अगाडि बढाइने जानकारी दिए ।  

पूर्वाञ्चल विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “खासगरी जैविक विविधताको अनुसन्धान, प्राकृतिक स्रोत–साधन र परम्परागत ज्ञान–सीपको सम्वर्द्धन गर्नुपर्छ । कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग र यान्त्रिकीकरणमा समेत यो विश्वविद्यालयले विशेष योगदान पुर्‍ याउनुपर्छ ।”

प्रधानमन्त्री प्रचण्डले अलैँची, चिया, रुद्राक्ष, जडिबुटी, जुट, फलफूल लगायतका मौलिक बालीहरूका बारेमा सूक्ष्म शोध–अनुसन्धानका साथै उत्पादनको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि विश्वविद्यालयले महत्त्वपूर्ण योगदान दिनुपर्नेमा जोड दि ।

‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताए ।  सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताए । 

“युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ । समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ ।”

युवा सहभागिताबिना देशलाई समृद्धितर्फ अगाडि बढाउन नसकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले युवा लक्षित उद्यमशीलता र नवप्रवर्तन तथा मानव संशाधान विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जनामा विशेष जोड दिए । 

“युवा जोश, जाँगरयुक्त ज्ञान, सीप र क्षमतालाई देशले नियालिरहेको छ र योगदान खोजिरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कूल जनसङ्ख्याको करिब ४० प्रतिशत युवा जनसाङ्ख्यिक लाभ नेपालले लिन सक्नुपर्छ र हामीले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्नैपर्छ ।” 

शैक्षिक क्षेत्रको उन्नयनमा आमूल रुपान्तरण गर्न नसक्नु दुःखद् विषय भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले शैक्षिक प्रणाली र यसले सिर्जना गरेको शैक्षिक बेरोजगारीको अवस्थालाई परिवर्तन गर्न जरुरी रहेको बताए । लामो समयदेखि विद्यालय तथा विश्वविद्यालय तहमा सिकाउनेभन्दा रटाउने शिक्षा पद्धति चलिरहेको अनुभूति हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्राविधिक ज्ञान र सीपलाई विशेष जोड दिन निर्देशन दिए ।

A Levels MA