After SEE Portal

काठमाडौंका २७ ओटा विद्यालयलाई कक्षा तथा विषय थप गर्न अनुमति

Bridge Course

काठमाडौं महानगरपालिका शिक्षा समितिले २७ ओटा विद्यालयलाई कक्षा तथा विषय थप गर्न अनुमति प्रदान गरेको छ ।

गएको आइतबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको शिक्षा समितिको वैठकले, सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षक, स्रोत शिक्षक र महानगरपालिकाको सहरी योजना आयोगले गरेको स्थलगत अनुगमनबाट प्राप्त सिफारिसका आधारमा कक्षा–विषय थप गर्न अनुमति दिएको हो ।

यसका लागि ४१ ओटा निवेदन आएका थिए । यीमध्ये ७ ओटालाई अनुमति नदिने, नाम परिवर्तनको निवेदन प्राप्त भए थप ४ ओटालाई अनुमति दिने निर्णय गरेको छ ।

बैठकले, नामसारीका लागि आएका ४ ओटा निवेदनमध्ये २ ओटालाई अनुमति नदिने, २ ओटाले नाम परिवर्तनका लागि निवेदन दिए अनुमति दिने निर्णय गरेको छ ।

स्थान परिवर्तनका लागि आएका ७ ओटा निवेदनमाथि छलफल गर्दै, नाम परिवर्तनको निवेदन दिएमा ४ ओटालाई अनुमति दिने निर्णय गरेको छ ।

एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा उल्लेख भएको तर उल्लेख गरिएको ठाउँमा विद्यालय नभएकोले वडा नं. १० थापागाउँको डेनेव एकेडेमीलाई अनुमति नदिएको विभागले जानकारी दियो ।

त्यस्तै ठेगाना दिएको स्थान, महानगरपालिका वडा नं. १० वानेश्वरमा नभएकोले काठमाडौं मेरिगोल्ड स्कूलले पनि अनुमति नपाएको विभागले जानकारी दियो । यस शीर्षकका निवेदकमध्ये वडा नं.३१ भी एस निकेतन सेकेण्डरी स्कूलले वडा नं. ३२ को सुविधानगरमा स्थान सर्ने अनुमति पाएको छ ।

स्वामित्व परिवर्तनका आएका ४ ओटा निवेदनमाथि बैठकले छलफल गरेको थियो । यीमध्ये वडा नं. ३ बसुन्धराको ज्येष्ठ स्कूलको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा रेकर्ड देखिएन । नाम परिवर्तनका लागि निवेदन दिएमा निवेदकमध्येका २ ओटा विद्यालयलाई अनुमति दिने निर्णय गरेको छ । स्थान परिवर्तनसँगै स्वामित्व परिवर्तनको निवेदन दिएको वडा नं. १० को काठमाडौँ मेरिगोल्ड स्कूल ठेगाना राखिएको ठाउँमा नभएकोले अनुमति नदिएको विभागले जानकारी दियो ।

धार्मिक विद्यालय दर्ता

धार्मिक विद्यालय दर्ताका सम्बन्धमा नेत्रनारायण पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । कानुन विभागको अधिकृत स्तरको प्रतिनिधि र सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षकलाई समितिको सदस्य राखिएको छ ।

प्रधानाध्यापक नियुक्ति सम्बन्धमा अध्ययन गर्न समिति गठन

दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति सम्बन्धमा यस अघि तयार पारिएका प्रतिवेदन, शिक्षा तथा स्वास्थ्य समितिको सिफारिस सहित थप अध्ययन गर्न सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा सहरी योजना आयोगको सचिवालयका प्रमुख नेत्रनारायण पौडेल र शिक्षा अधिकृत रामचन्द्र खड्का सदस्य रहेका छन् ।

विव्यस पुनः गठनका लागि पत्राचार

कोटेश्वर सरस्वती माध्यमिक विद्यालयमा यस अघि गठन गरिएको विद्यालय व्यवस्थापन समिति कानुनसम्मत नदेखिएकोले पुनः गठनका लागि पत्राचार गर्ने वैठकले निर्णय गरेको छ ।

खरिद गरेको जग्गा अपायक

वडा नं. ६ को अरुणिमा एजुकेसन फाउन्डेसनले तारकेश्वर नगरपालिका वडा नं. २ मा खरिद गरेको जग्गा अपायक भएकोले उक्त जग्गा बेचेर विद्यालयको भवन निर्माण गर्ने सम्बन्धमा प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेलको संयोजकत्वमा ३ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।

कार्यदलको सदस्यमा सहरी योजना आयोगका सहायक विज्ञ प्रतिक श्रेष्ठ र सदस्य सचिवमा शिक्षा विभागका इञ्जिनियर प्रभु योङ्हाङ रहेका छन् ।

शुल्क मापदण्ड निर्धारण समिति

बैठकले, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यको संयोजकत्वमा शुल्क मापदण्ड निर्धारण समिति समेत गठन गरेको छ । समितिले दिएको प्रतिवेदनका आधारमा शिक्षा समितिका संयोजकबाट शुल्क निर्धारण मापदण्ड स्वीकृत हुने बैठकले निर्णय गरेको छ ।

समितिको सदस्यमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, शिक्षा अधिकृत, नेत्रनारायण पौडेल, शिक्षा समितिका सदस्य हरू  रुपक राजवंशी, रीता दाहाल, कपिलजंग पाण्डे रहेका छन् । यस्तै स्रोत शिक्षक दिनेश केसी सो समितिको सदस्य सचिवरहेका छन् ।

अटिजम विद्यालय सञ्चालन सम्बन्धी अध्ययन गर्न समिति गठन

सहरी योजना आयोगका सदस्य झाको संयोजकत्वमा अटिजम विद्यालय सञ्चालन सम्बन्धी अध्ययन गर्न समिति गठन भएको छ ।

सामाजिक विकास विभागबाट स्थान उपलब्ध गराउन माग आएको विभागले जानकारी दियो ।

महानगरभित्रका सामुदायिक विद्यालयमध्ये कुनैमा पनि यस प्रकारको अवस्था (अटिजम) भएका बालबालिकाका लागि विद्यालय नभएकोले, महानगरपालिकाले आफैँले अटिजम विद्यालय सञ्चालन गर्ने विषयमा अध्ययन गरेर प्रतिवेदन दिन समितिलाई १ महिनाको समय दिइएको छ । समितिको सदस्यमा स्रोत शिक्षक योग्य प्रसाईँ र सदस्य सचिवमा शिक्षा अधिकृत इन्द्रप्रसाद दाहाल रहेका छन् ।

तरुण माध्यमिक विद्यालयमा आविष्कार क्लव

वडा नं १६ मा रहेको तरुण माध्यमिक विद्यालयमा आविष्कार क्लव सञ्चालन व्यवस्था मिलाउन शिक्षा विभागलाई निर्देशन दिएको छ ।

महानगरपालिकाका ४० ओटा सामुदायिक विद्यालयमा आविष्कार क्लव छन् ।

यीमध्ये वडा नं. ३१ मा रहेको भीमसेनगोला माध्यमिक विद्यालयले गएको बर्षमा प्रगति प्रतिवेदन पेस नगरेकोले यसको सट्टा तरुण माध्यमिक विद्यालयलाई अवसर प्रदान गरिएको विभागले जानकारी दियो ।

विद्यालयहरूको नाम नेपालीकरण गर्ने प्रक्रिया

सो बैठकले, विद्यालयहरूको नाम नेपालीकरण गर्ने प्रक्रियाअन्तर्गत नाम परिवर्तन गर्दा लाग्ने राजस्व छुटका लागि कार्यपालिकालाई सिफारिस गरेको छ ।

महानगरभित्र कक्षा १२ सञ्चालन भएका करिब ७७१ विद्यालय दर्ता गरिएके छ । तर अहिले ५१२ ओ विद्यालय मात्र सञ्चालनमा छन् । तीमध्ये ३२४ ओटा विद्यालयको नाम अङ्ग्रेजीमा राखिएका छ । नेपाली पन झल्कने नाम परिवर्तनका लागि सम्पर्क राख्न सात दिन र नाम प्रस्तावका लागि ३५ दिनको समय म्याद दिइएको छ ।

महागरपालिकाले चैत २१ गते पहिलो पटक सात दिनको म्याद राखेर नाम परिवर्तन गर्न विद्यालयलाई निर्देशन दिएको थियो । विद्यालयले अटेर गरेपछि पुनः दोस्रो पटक सूचना जारी गरे पनि २०१ विद्यालय मात्र नाम परिवर्तनका लागि प्रक्रियामा गएका छन्   । शिक्षा विभागले दिएको ३५ दिन वैशाख २५ गते सम्म छ । म्याद सकिएपछि कार्यालयले निर्णय गर्ने बताएको छ । मन्त्रालयले विगत १० वर्षअघि पनि पटकपटक सूचना जारी गरी नेपालीपन झल्किने गरी नाम परिवर्तन गर्न र राख्न निर्देशन दिँदै आएको थियो ।

नाम परिवर्तनका लागि सम्पर्कमा आएका मध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिइन् ।

शिक्षा ऐन ९२०२८० मा विद्यालयको नाम नेपाली झल्काउने हुनुपर्ने भनी स्पष्ट उल्लेख छ । त्यसैगरी शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था छ ।

A Levels MA